बिमा क्षेत्रमा अर्बौंको ‘सेटिङ’ काण्ड : दीपक– सुलभ सहित ४० जनामाथि मुद्दा सिफारिस

हिमालयन रिइन्स्योरेन्सबाट मात्रै २ अर्ब ७३ करोड रुपैयाँ जोखिममा परेको निष्कर्ष


काठमाडौं । नेपालको बिमा क्षेत्रमा हालसम्मकै ठूलो आर्थिक अनियमिततामध्ये एक मानिएको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।

हिमालयन रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स तथा तिनका सहायक संस्थाको रकम दुरुपयोग गरी सेयर बजारमा चलखेल, भित्री कारोबार (इन्साइडर ट्रेडिङ) तथा आर्थिक अपचलन गरिएको निष्कर्षसहित सीआईबीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो।

प्रतिवेदनमा व्यवसायी सुलभ अग्रवाल, दीपक भट्ट, हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा लगायत ४० जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ।

सीआईबीका अनुसार बिमा कम्पनीहरूको लगानी कोष नियामकीय सीमा र प्रक्रिया मिच्दै निश्चित समूहको स्वार्थअनुसार प्रयोग गरिएको थियो। विशेषगरी भृकुटी स्टक ब्रोकिङमार्फत गरिएको कारोबारमा संस्थागत रकम प्रयोग गरी निजी व्यक्तिलाई लाभ पुर्‍याइएको, सेयर मूल्य प्रभावित पार्ने प्रयास गरिएको तथा बिमा कम्पनीको हितविपरीत निर्णय गरिएको आरोप छ।

अनुसन्धानले हिमालयन रिइन्स्योरेन्सले मात्रै ब्रोकरबाट २ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम उठाउन बाँकी रहेको अवस्थामा समेत थप रकम पठाएको देखाएको छ। सीआईबीले यसलाई सामान्य व्यावसायिक निर्णय नभई योजनाबद्ध आर्थिक दुरुपयोगको संकेतका रूपमा व्याख्या गरेको छ।

प्रतिवेदनअनुसार कम्पनीहरूको लगानी नीति, नेपाल बिमा प्राधिकरणको निर्देशन तथा बिमा ऐनको व्यवस्था उल्लंघन गर्दै गार्डियन माइक्रो लाइफ, नेपाल माइक्रो इन्स्योरेन्सलगायतका कम्पनीमा लगानी गरिएको थियो। कतिपय कारोबारमा नियामकको पूर्वस्वीकृतिसमेत नलिइएको उल्लेख छ।

सीआईबीले मुख्य योजनाकारका रूपमा देखिएका व्यक्तिहरूमाथि अर्बौं रुपैयाँ बिगो कायम गरी बिमा ऐन, २०७९ अन्तर्गत कैद र जरिवानासहितको कारबाही माग गर्न सिफारिस गरेको छ।

यो प्रकरणले नेपालको बिमा क्षेत्रभित्रको संस्थागत सुशासन, लगानी व्यवस्थापन र नियामकीय निगरानीमाथि गम्भीर प्रश्न खडा गरेको छ। सरकारी वकिलको निर्णयपछि अब यो बहुचर्चित प्रकरण अदालतको ढोकामा पुग्ने भएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार