काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ऊर्जा उत्पादन, प्रसारण तथा वितरण पूर्वाधार विस्तारका लागि रु ८५ अर्ब ५४ करोड बजेट विनियोजन गरेको छ। यसमध्ये निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन सम्पन्न गर्न रु ७० अर्ब छुट्याइएको छ।
सरकारले एक वर्षभित्र कम्तीमा १० वटा प्रसारण लाइन आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ। साथै हेटौँडा–रातमाटे–लप्सीफेदी–न्यू दमौली–न्यू बुटवल ४०० केभी तथा विभिन्न अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई पनि प्राथमिकता दिइएको छ।
बजेटले स्वच्छ ऊर्जामा आधारित उद्योग, विद्युतीय सवारी उत्पादन, चार्जिङ स्टेशन विस्तार तथा निजी क्षेत्रको सहभागिता बढाउने नीति लिएको छ। सरकारले प्रसारण पूर्वाधार विस्तारमार्फत विद्युत् खपत वृद्धि, ऊर्जा निर्यात विस्तार र माग–आपूर्ति सन्तुलन कायम गर्ने लक्ष्य राखेको जनाएको छ।
२०८३ जेष्ठ १८, सोमबार २१:४९ प्रकाशित


