महिला अधिकार दिवसमा प्रधानमन्त्री शाहको सन्देश: समानता र सशक्तीकरणमा जोड
काठमाडौँ । आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले शुभकामना व्यक्त गर्दै लैङ्गिक समानता र महिला सशक्तीकरणलाई राज्यको प्राथमिकता भएको बताएका छन्।
उनले संविधानले महिलाको हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गर्दै समानुपातिक र समावेशी सहभागिता प्रत्याभूत गरेको उल्लेख गरे। राज्यका विभिन्न क्षेत्रमा महिलाको प्रतिनिधित्व बढ्दै गएको र लैङ्गिक सूचकाङ्कमा सुधार देखिएको उनको भनाइ छ।
तर पितृसत्तात्मक सोच, बालविवाह, छाउपडी, दाइजो प्रथा तथा लैङ्गिक हिंसा अझै चुनौतीका रूपमा रहेको भन्दै उनले यस्ता समस्याको अन्त्यका लागि कानुनी तथा सामाजिक दुवै तहमा अभियान आवश्यक रहेको बताए।
प्रधानमन्त्री शाहले महिलामैत्री नीति र व्यवहारमार्फत समतामूलक समाज निर्माण गर्ने सरकारको प्रतिबद्धता दोहोर्याएका छन्।