८ महिनामा जीवन बीमा शुल्क १ खर्ब २७ अर्ब नाघ्यो


सञ्चय कोषको सम्पत्ति ६ खर्ब ४२ अर्ब

काठमाडौँ ।  चालू आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालमा कुल बीमा शुल्क संकलन १६.१ प्रतिशतले बढेर १ खर्ब ६० अर्ब २२ करोड रुपैयाँ पुगेको छ। आर्थिक सर्वेक्षणअनुसार जीवन बीमाबाट १ खर्ब २७ अर्ब ६९ करोड र निर्जीवन बीमाबाट ३२ अर्ब ५३ करोड रुपैयाँ संकलन भएको हो।

सो अवधिमा जीवन बीमातर्फ १ लाख २५ हजारभन्दा बढी दाबीबापत २६ अर्ब ८४ करोड रुपैयाँ भुक्तानी गरिएको छ भने निर्जीवन बीमातर्फ १७ अर्ब ३१ करोड रुपैयाँ दाबी भुक्तानी भएको छ।

बीमा क्षेत्रमा १२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् भने ४ लाखभन्दा बढी अभिकर्ता अप्रत्यक्ष रोजगारीमा संलग्न रहेका छन्। साथै कर्मचारी सञ्चय कोषको सम्पत्ति ६ खर्ब ४२ अर्ब रुपैयाँ र नागरिक लगानी कोषको सम्पत्ति ३ खर्ब १९ अर्ब रुपैयाँ पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।

२०८३ जेष्ठ १४, बिहीबार २०:०२ प्रकाशित
ट्रेन्डिङ समाचार