नेपाल प्रहरीको ३ वर्षे रणनीतिक योजना सार्वजनिक, प्रविधिमैत्री सेवा प्रवाहमा जोड
काठमाडौं । नेपाल प्रहरीले “नेपाल प्रहरी रणनीतिक योजना २०८३–२०८५” सार्वजनिक गर्दै संगठनलाई नागरिक केन्द्रित, प्रविधिमैत्री र उत्तरदायी बनाउने लक्ष्य लिएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अब प्रहरी सेवा परम्परागत शैलीबाट आधुनिक, वैज्ञानिक र डिजिटल प्रणालीमा आधारित बनाइनेछ।
योजनामा साइबर अपराध, डिजिटल फरेन्सिक, संगठित तथा आर्थिक अपराध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको छ। साथै कृत्रिम बुद्धिमत्ता (एआई) र आधुनिक प्रविधिको प्रयोग विस्तार गर्ने, उजुरी तथा सेवा प्रवाहलाई डिजिटल प्रणालीमार्फत सहज बनाउने लक्ष्य छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि विशेष सेवा प्रणाली विकास गर्ने र समुदाय–प्रहरी साझेदारी सुदृढ गर्ने योजना पनि समावेश छ। योजना कार्यान्वयन चरणबद्ध रूपमा हुने र नियमित अनुगमन तथा समीक्षा प्रणाली लागू गरिने प्रहरीले जनाएको छ।