अख्तियार प्रमुख प्रेमकुमार राईलाई राजीनामा गराउन ‘हत्या धम्की’सम्मको योजना – धम्की, दबाब र प्रलोभनबीच पनि विचलित भएनन् राई, कानुनी प्रक्रियामै अडिग
काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले आफूविरुद्ध भइरहेको भ्रष्टाचार अनुसन्धानबाट उन्मुक्ति पाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यानमार्ने धम्की दिलाउन १० करोड रुपैयाँसम्म खर्च गर्न तयार भएको सनसनीपूर्ण खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा अधिकारीले काभ्रेका प्रकाश पाठकमार्फत अख्तियार प्रमुख राईलाई धम्की दिई राजीनामा गराउन खोजेको र त्यसबापत २ करोड रुपैयाँ पहिल्यै उपलब्ध गराइसकेको तथ्य खुलेको हो।

अनुसन्धानअनुसार भक्तपुरको नलिनचोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियारले अधिकारीमाथि अनुसन्धान अगाडि बढाएपछि उनले राईलाई पदबाट हटाउन आपराधिक योजना बनाएका थिए। राईलाई हटाउन सके आफ्ना सबै भ्रष्टाचार काण्ड सहजै दबाउन सकिने निष्कर्षमा पुगेर अधिकारीले धम्की र षड्यन्त्रको बाटो रोजेको प्रहरीको निष्कर्ष छ। तर, उक्त योजना पूर्ण रूपमा असफल भएको छ। भ्रष्टाचार आरोपमा मुद्दा खेपिरहेका अधिकारी अहिले जेलमा छन्। उनीविरुद्ध अख्तियारले यसअघि नै करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिसकेको छ। त्यसमाथि, अख्तियार प्रमुखलाई ज्यानमार्ने धम्की दिएको आरोपमा अधिकारीसहित तीन जनाविरुद्ध प्रहरीले थप मुद्दा दायर गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार अधिकारीको निर्देशनमा धम्की दिएको आरोपमा काभ्रेका प्रकाश पाठक र झापाका ताराप्रसाद खरेलविरुद्ध आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुन्डी, विद्युतीय कारोबार तथा संगठित अपराधअन्तर्गत मुद्दा दर्ता गरेको जनाएको छ। प्रहरीका अनुसार पाठकले रकम असुली गर्ने उद्देश्यले “एक्सट्रिमिस्ट ग्रुप अफ नेपाल” नामक कथित उग्रवादी संगठन नै खडा गरेका थिए। यही समूहको नाम प्रयोग गर्दै उनले सुरुमा तत्कालीन क्यान महानिर्देशक अधिकारीसँग सम्पर्क गरेका थिए। तर त्यसपछि घटनाले नयाँ मोड लियो। प्रहरी बयानअनुसार अधिकारीले नै पाठकलाई अख्तियार प्रमुख प्रेमकुमार राईलाई धम्की दिएर राजीनामा गराउन प्रस्ताव राखे।
काम सफल भए ८ देखि १० करोड रुपैयाँ दिने आश्वासन उनले दिएका थिए। पाठकले प्रहरीसमक्ष दिएको बयानमा अधिकारीबाट १० करोडमध्ये २ करोड रुपैयाँ बराबरको रकम आफूले पाइसकेको स्वीकार गरेका छन्। अनुसन्धानअनुसार सन् २०२५ नोभेम्बर २९ मा पाठकले इमेलमार्फत अख्तियार प्रमुख राईलाई १० दिनभित्र राजीनामा नदिए ज्यान लिने धम्की दिएका थिए। त्यसपछि भिडियो सन्देश र सामाजिक सञ्जालमार्फत समेत त्रास सिर्जना गर्ने प्रयास गरिएको थियो। तर, धम्कीपछि पनि अख्तियार प्रमुख राई विचलित भएनन्।
उनले तत्काल प्रहरीमा जाहेरी दिँदै कानुनी प्रक्रिया अघि बढाए। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले विस्तृत अनुसन्धान सुरु गरेको थियो। प्रहरी बयानमा पाठकले आफू विभिन्न व्यवसायिक लगानीमा असफल भएपछि गैरकानुनी रूपमा पैसा असुल गर्ने उद्देश्यले कथित उग्रवादी संगठन बनाएको स्वीकार गरेका छन्। उनी घटनाका बेला फिलिपिन्समा रहेका थिए। उनले विवादित नेता, व्यापारी तथा भ्रष्ट कर्मचारीलाई लक्षित गरी फिरौती असुल्ने उद्देश्यले सन् २०२५ अक्टोबर १ मा “विश्व क्रान्ति दिवस” को दिन उक्त संगठन स्थापना गरेको बताएका छन्।
पाठकका अनुसार सुरुमा उनले अधिकारीकै वाट्सएप र क्यानको आधिकारिक इमेलमा एक करोड रुपैयाँ माग गर्दै पत्र पठाएका थिए। त्यसपछि अधिकारीले फोन गरी अख्तियार प्रमुखलाई धम्की दिए १० करोड रुपैयाँसम्म दिने प्रस्ताव राखेका थिए। प्रहरी अनुसन्धानमा धम्कीपूर्ण इमेलको मस्यौदा समेत पाठकले सुरुमा अधिकारीलाई पठाएर ‘ओके’ गराएको तथ्य खुलेको छ।
त्यसपछि मात्रै अख्तियारमा धम्कीपूर्ण इमेल पठाइएको बयानमा उल्लेख छ। पाठकले प्रहरीलाई दिएको बयानमा भनेका छन्— “अख्तियार प्रमुख प्रेम राईलाई राजीनामा दिन बाध्य पार्ने उद्देश्यले धम्कीपूर्ण इमेल पठाउँदा मैले प्रदीप अधिकारीसँग सम्बन्धित व्यक्तिमार्फत फिलिपिन्समा दुई पटक गरी करिब २ करोड रुपैयाँ बराबरको रकम हुन्डीमार्फत प्राप्त गरेको हुँ।” प्रहरीका अनुसार अधिकारीले पाठकलाई हुन्डीमार्फत रकम बुझाउने सम्पूर्ण ‘कोड’ समेत दिएका थिए। फिलिपिन्सस्थित चिनियाँ नागरिकमार्फत उनलाई ४०–४० लाख पेसो गरी दुई चरणमा रकम बुझाइएको थियो।
पाठकले उक्त रकममध्ये अधिकांश खर्च गरेर फिलिपिन्समा अपार्टमेन्ट खरिद गरेको पनि बयान दिएका छन्। अनुसन्धानमा अधिकारीले यसअघि जेनजी समूहका नेता अर्जुन शाहीलाई प्रयोग गर्न खोजेको तर असफल भएपछि पाठकलाई अघि सारेको तथ्य पनि खुलेको छ। यति ठूलो षड्यन्त्र, धम्की र दबाबका बाबजुद अख्तियार प्रमुख प्रेमकुमार राई भने आफ्नो जिम्मेवारीबाट पछि हटेनन्।
उनी अनुसन्धान र कानुनी प्रक्रियामा अडिग रहे। प्रहरी स्रोतका अनुसार धम्की, त्रास र प्रलोभनमार्फत संवैधानिक निकायलाई प्रभावित पार्ने प्रयास भए पनि राईले कुनै सम्झौता नगरी आफ्नो कर्तव्य निर्वाह जारी राखेका थिए। पछि पाठकले भिडियोमार्फत थप धम्की दिएका थिए, जुन भिडियो फिलिपिन्समै बसेर तयार गरिएको अनुसन्धानबाट खुलेको छ। पाठकले प्रहरीसमक्ष आफूलाई राईलाई मार्ने उद्देश्य नभएको दाबी गर्दै अधिकारीले ठूलो रकम दिने आश्वासन दिएका कारण पैसाको लोभमा यस्तो गतिविधिमा संलग्न भएको बताएका छन्।
२०८३ बैशाख ३०, बुधबार २०:५९ प्रकाशित


