ADVERTISEMENT

चार महिनामा पुँजीगत खर्च ७.५३ प्रतिशत मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारको पुँजीगत खर्च निराशाजनक देखिएको छ। कात्तिक मसान्तसम्म विकास निर्माणका लागि छुट्याइएको बजेटको ७.५३ प्रतिशत मात्रै खर्च भएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार यस अवधिमा सरकारले कुल विनियोजित बजेटको २३.३७ प्रतिशत अर्थात् ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको छ। त्यसमध्ये चालु खर्च २७.२९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २७.७६ प्रतिशत खर्च भएको छ।

सरकारले चालु आर्थिक वर्षमा ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याएकोमा कात्तिक मसान्तसम्म ३२ अर्ब ४४ करोड रुपैयाँ मात्रै खर्च गर्न सकेको हो।

यस्तै, चार महिनामा सरकारले कुल ३ खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको छ। यो वार्षिक राजस्व तथा प्राप्ति लक्ष्यको २३.३९ प्रतिशत हो। यस अवधिमा ३ खर्ब ७२ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

विकास बजेट खर्चमा देखिएको सुस्तताले आयोजना कार्यान्वयन र वार्षिक बजेट लक्ष्य प्राप्तिमा चुनौती थपिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार