ADVERTISEMENT

आयकरको उच्चतम दर ३९ बाट २९ प्रतिशतमा झारियो : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले कर प्रणालीमा सुधार गर्दै आयकरको उच्चतम दर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशतमा झारेको बताउनुभएको छ।

राष्ट्रिय कर दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पाँच लाख रुपैयाँको आयसीमालाई बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको र सोभन्दा कम आय हुनेलाई कर नलाग्ने व्यवस्था गरिएको जानकारी दिनुभयो।

उहाँले भन्सार, अन्तःशुल्कलगायतका क्षेत्रमा समेत नीतिगत सुधार अघि बढाइएको बताउनुभयो। आगामी जेठ १५ गते प्रस्तुत हुने बजेटमा सुधारका कार्यक्रमलाई थप फराकिलो बनाइने उहाँको भनाइ छ।

त्यस्तै, सरकारले ५० देखि ६० वटा ऐनका करिब ५०० दफा संशोधन गर्ने तयारी गरेको छ। आगामी एकदेखि दुई हप्ताभित्र ३० देखि ३५ वटा नीतिगत तथा व्यावहारिक सुधारका कार्यक्रम सार्वजनिक गर्ने तयारीसमेत भइरहेको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो।

उहाँले सेयर बजार सुधारका लागि २१ बुँदे कार्यक्रम कार्यान्वयनमा ल्याइएको र समग्र अर्थतन्त्रलाई लक्षित गरी आर्थिक प्याकेजमा समेत काम भइरहेको बताउनुभयो।

सुधार एकपटकको निर्णयबाट पूरा नहुने भन्दै उहाँले तथ्य र प्रमाणका आधारमा आवश्यकताअनुसार नीतिगत परिमार्जन गर्दै जाने स्पष्ट पार्नुभयो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार