काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको छोटो तर महत्वपूर्ण भारत भ्रमणबाट नेपाल–भारत सम्बन्धमा नयाँ उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री शाह यही ६ मंसिरमा भारतको राजकीय भ्रमणमा जाने र भोलिपल्ट ७ मंसिरमै स्वदेश फर्कने कार्यक्रम छ । करिब २५ घण्टा दिल्लीमा बिताउने प्रधानमन्त्रीको भ्रमणलाई आर्थिक सहयोग, हवाई सम्पर्क विस्तार र लामो समयदेखि थाती रहेका द्विपक्षीय मुद्दाहरूमा सहमति जुटाउने दृष्टिले महत्वपूर्ण मानिएको छ ।
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा नेपालले भारतसँग प्रस्ताव गरेका २ खर्ब भारतीय रुपैयाँ बराबरको आर्थिक सहयोग, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक हवाई रुट तथा एयर स्पेस, अयोध्या–जनकपुर रेल सेवा र अन्य द्विपक्षीय विषयमा सहमति हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यद्यपि, भ्रमणका क्रममा हुने सम्झौता तथा सहमतिका विषयलाई अन्तिम रूप दिने काम अझै जारी रहेको सरकारी स्रोतहरूको भनाइ छ ।
मोदीसँग निर्णायक वार्ता, राष्ट्रपतिसँग शिष्टाचार भेट
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमणमा औपचारिक भेटघाट तथा बैठकहरू सीमित रहनेछन् । भ्रमणको मुख्य केन्द्र भारतीय प्रधानमन्त्री मोदीसँगको वार्ता हुनेछ ।
६ मंसिरको अपराह्न करिब ३ बजे नयाँ दिल्ली पुग्ने प्रधानमन्त्री शाह ताजमहल होटलमा बस्नेछन् । आगमनको दिन उनका कुनै औपचारिक कार्यक्रम राखिएको छैन ।
७ मंसिरमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुअघि प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर प्रदान गरिने कार्यक्रम छ । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीसँग नयाँ दिल्लीस्थित प्रधानमन्त्री कार्यालयमा एक्लाएक्लै अर्थात् वान–अन–वान वार्ता हुनेछ ।
दुई प्रधानमन्त्रीबीचको व्यक्तिगत वार्तापछि प्रतिनिधिमण्डलस्तरीय बैठक हुनेछ । नेपाल–भारतबीच हुने विभिन्न उद्घाटन, सम्झौता र समझदारीहरू यही बैठकका क्रममा सार्वजनिक तथा आदानप्रदान गरिने सम्भावना छ ।
यसका अतिरिक्त भारतीय विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणमा अन्य औपचारिक बैठक तथा कार्यक्रम भने नराखिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
७ मंसिरको अपराह्न करिब साढे ४ बजे प्रधानमन्त्री शाह स्वदेश फर्कनेछन् । यसअनुसार उनको भारत भ्रमणको अवधि करिब साढे २५ घण्टा हुनेछ ।
२ खर्ब भारुको सहयोगमा सहमति जुट्ने सम्भावना
प्रधानमन्त्री शाहको भारत भ्रमणमा आर्थिक सहयोगसम्बन्धी विषय सबैभन्दा महत्वपूर्ण एजेन्डामध्ये एक बन्ने देखिएको छ । नेपालले भारतसँग अनुदान र सहुलियतपूर्ण ऋण गरी कुल २ खर्ब भारतीय रुपैयाँ बराबरको सहयोग प्रस्ताव गरेकोमा भारत सकारात्मक रहेको सरकारी स्रोतहरूले जनाएका छन् ।
प्रस्तावअनुसार १ खर्ब भारु सहुलियतपूर्ण ऋण अर्थात् लाइन अफ क्रेडिट र अर्को १ खर्ब भारु अनुदानका रूपमा प्राप्त गर्ने नेपालको अपेक्षा छ । यस विषयमा भारतबाट औपचारिक निर्णय आइनसके पनि प्रस्तावित सहयोग प्याकेजमा सहमति जुट्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।
नेपालले प्रस्ताव गरेको अनुदानमध्ये ५० अर्ब भारु रसुवा क्षेत्रमा बाढीबाट भएको क्षतिको पुनर्निर्माणमा खर्च गर्ने योजना बनाएको छ । त्यस्तै, बुटवल–पोखरा एक्सप्रेसवे निर्माणका लागि थप ५० अर्ब भारु अनुदान प्रस्ताव गरिएको छ ।
यदि यो सहयोग प्याकेजमा सहमति जुटेमा नेपालको पूर्वाधार विकास, विपद्पछिको पुनर्निर्माण र आर्थिक विकासका परियोजनाहरूमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
महेन्द्रनगरबाट हवाई प्रवेश, भैरहवाका लागि एयर स्पेस
नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूको प्रभावकारी सञ्चालनसँग जोडिएको हवाई रुट तथा एयर स्पेसको विषय पनि प्रधानमन्त्री शाहको भ्रमणमा महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुन सक्ने देखिएको छ ।
नेपालले लामो समयदेखि भारतसँग महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा र जनकपुर क्षेत्रबाट अन्तर्राष्ट्रिय उडानका जहाजलाई नेपाल प्रवेश गर्न अनुमति दिन आग्रह गर्दै आएको छ । हाल विदेशबाट नेपाल आउने जहाजहरू मुख्यतः सिमरा क्षेत्रबाट मात्रै प्रवेश गर्न पाउने व्यवस्थाले भैरहवा र पोखरामा निर्माण गरिएका अन्तर्राष्ट्रिय विमानस्थलहरूको सञ्चालनमा चुनौती उत्पन्न भएको नेपाली पक्षको भनाइ छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारत महेन्द्रनगरबाट ३९ हजार फिटको उचाइमा जहाजलाई नेपाल प्रवेश गर्न दिने गरी हवाई रुट उपलब्ध गराउन सहमतिनजिक पुगेको छ । यसले विशेषगरी पश्चिम नेपालबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
त्यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा जहाज अवतरण तथा उडानका क्रममा भारतीय एयर स्पेस प्रयोग गर्न आवश्यक अनुमति दिने विषयमा पनि भारत सकारात्मक रहेको स्रोतले जनाएको छ ।
यद्यपि, यस विषयमा भारतले रक्सौल र बागडोग्रा क्षेत्रमा नेपाली एयर स्पेस प्रयोग गर्न पाउने प्रस्तावसमेत अघि सारेको बताइएको छ । त्यसबारे दुई देशबीच थप छलफल भइरहेको स्रोतको भनाइ छ ।
हवाई रुट तथा एयर स्पेससम्बन्धी विषयमा ठोस सहमति भएमा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालनलाई गति दिन तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अयोध्या–जनकपुर रेल उद्घाटनको तयारी
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अयोध्या–जनकपुर रेल सेवाको संयुक्त उद्घाटन पनि महत्वपूर्ण कार्यक्रमका रूपमा रहने सम्भावना छ ।
भारतले अयोध्यादेखि जनकपुरसम्म साताको एकपटक रेल सञ्चालन गर्न अनुमति दिइसकेको छ । दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी रहेको सरकारी स्रोतले जनाएको छ ।
रामायण सर्किटसँग जोडिएका दुई ऐतिहासिक तथा धार्मिक सहरबीच रेल सेवा सञ्चालनले नेपाल–भारत धार्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान र पर्यटन प्रवर्द्धनमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
थाती मुद्दा टुंग्याउने अवसर
प्रधानमन्त्री शाहको भारत भ्रमणमा लामो समयदेखि नेपाल–भारतबीच छलफलमा रहेका विषयहरूलाई समेत प्राथमिकतामा राखिने सरकारी स्रोतहरूले जनाएका छन् । आर्थिक सहयोग, हवाई सम्पर्क, पूर्वाधार विकास, पर्यटन तथा अन्य द्विपक्षीय मुद्दाहरूमा सहमति जुटाउने प्रयास हुने बताइएको छ ।
नयाँ सरकार गठनपछि प्रधानमन्त्री शाहले एक वर्षसम्म विदेश भ्रमण नगर्ने घोषणा गरेका थिए । तर, त्यसपछि गत सेप्टेम्बरको तेस्रो साता संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी अमेरिकाको न्यूयोर्क पुगेका थिए । महासभालाई सम्बोधन गरेलगत्तै स्वदेश फर्किएका प्रधानमन्त्रीले त्यही छोटो भ्रमण शैलीलाई भारतमा पनि निरन्तरता दिने भएका छन् ।
समय छोटो भए पनि प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धमा परिणाममुखी संवाद अघि बढाउने अवसरका रूपमा हेरिएको छ । विशेषगरी २ खर्ब भारुको आर्थिक सहयोग, अन्तर्राष्ट्रिय हवाई रुट तथा एयर स्पेस र अयोध्या–जनकपुर रेल सेवासम्बन्धी सहमति कार्यान्वयनमा आएमा भ्रमणले महत्वपूर्ण उपलब्धि हासिल गरेको मानिनेछ ।
प्रधानमन्त्रीको भ्रमणबाट हुने सहमति र सम्झौताले दुई देशबीचको सम्बन्धलाई नयाँ गति दिने मात्र नभई नेपालको आर्थिक विकास, पूर्वाधार विस्तार र अन्तर्राष्ट्रिय हवाई सम्पर्कका क्षेत्रमा समेत दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया