मुगु । काठमाडौंको कलङ्कीबाट मुगुको रारा जाँदै गरेको हाइलक्स गाडी मुगुमा भीषण दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
काठमाडौँबाट रारा घुम्न जाँदै गरेको बागमती प्रदेश ०१–०१७ च १८६४ नम्बरको हाइलक्स गाडी मुगुको छायाँनाथ रारा नगरपालिका–७ स्थित टोप्लाको जिमाकाँरा भीरबाट करिब ६०० मिटर तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार दुर्घटनामा गाडीमा सवार पाँच जनामध्ये तीन जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा काठमाडौंको कलङ्की निवासी ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन् ।
दुर्घटनामा चालक ललितपुर निवासी ५८ वर्षीय कञ्चन थापा र ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन् । दुवै घाइतेलाई उद्धार गरी जिल्ला अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
गाडी सडकबाट करिब ६०० मिटर तल खसेका कारण दुर्घटना अत्यन्तै भीषण भएको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।





प्रतिक्रिया