काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हजारौँ शहीदको बलिदान र कार्यकर्ताको त्यागबाट बनेको पार्टीलाई कसैले पनि नियन्त्रणमा राख्न नसक्ने बताएका छन्।
शनिबार कांग्रेसको ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आफूलाई व्यक्तिगत रूपमा केही पाउनु नरहे पनि जीवनको अन्तिम साससम्म पार्टीको हित र संरक्षणका लागि लडिरहने बताए।
कांग्रेसकै साथ र कार्यकर्ताको विश्वासका कारण आफू पाँच पटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै उनले पार्टीको इतिहास, विचार र अस्तित्व समाप्त पार्न कसैले नसक्ने धारणा राखे। उनले पार्टीभित्र एकता कायम राख्नसमेत आग्रह गरे।
सम्बोधनका क्रममा देउवाले ‘जेन–जी’ आन्दोलनका क्रममा कांग्रेस र एमालेका नेताहरू तथा उनीहरूका निवासलाई योजनाबद्ध रूपमा निशाना बनाइएको आरोप लगाए। आफ्नो घर, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आश्रम र बीपी कोइरालाको पुर्ख्यौली घरसमेत जलाइएको भन्दै उनले घटनालाई नियोजित षड्यन्त्रको संज्ञा दिए।
विद्यार्थी राजनीतिदेखि नै प्रजातन्त्रका लागि संघर्ष गरेको स्मरण गर्दै देउवाले आफूले साढे आठदेखि नौ वर्षसम्म जेल जीवन बिताएको बताए। उनले बीपी कोइरालालगायत अग्रज नेताहरूको योगदान र पार्टी निर्माणमा नेता–कार्यकर्ताले गरेको त्यागको सम्मान गर्नुपर्नेमा जोड दिए।




प्रतिक्रिया