काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौँडा चल्ने यात्रुवाहक तथा सार्वजनिक सवारी साधनको सञ्चालनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले कडाइ गरेको छ । पछिल्लो समय उक्त सडकखण्डमा सवारी दुर्घटना बढ्दै गएपछि प्रशासनले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै चारवटा अनिवार्य नियम लागू गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार अत्यन्त जरुरी सूचना जारी गर्दै बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारी साधनको सञ्चालनका लागि समय तालिका निर्धारण गर्नुका साथै चेकजाँचलाई अनिवार्य बनाइएको जानकारी दिएका छन् ।
प्रशासनका अनुसार उक्त सडकखण्डमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको र दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्तै भयावह तथा पीडादायी देखिएकाले दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षा सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको हो ।
यी हुन् काठमाडौं प्रशासनले लागू गरेका ४ नियम
१. राति ८ बजेभित्र फर्पिङ प्रहरी चेकपोस्ट पुग्नुपर्ने
बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक तथा सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र प्रहरी चेकपोस्ट फर्पिङ पुगिसक्नुपर्नेछ । रातिको समयमा जोखिमपूर्ण सडकखण्डमा सवारी सञ्चालनलाई व्यवस्थित गर्न प्रशासनले समयसीमा तोकेको हो ।
२. बिहान ५ बजेपछि मात्रै सवारी सञ्चालन गर्न पाइने
उक्त रुटमा बिहान ५ बजेपछि मात्रै यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइनेछ । निर्धारित समयभन्दा अगाडि सवारी सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ ।
३. सवारीको अवस्था पूर्ण जाँच गरेर मात्रै सञ्चालन गर्नुपर्ने
यात्रुवाहक तथा सार्वजनिक सवारी साधनको अवस्था (कन्डिसन) पूर्ण रूपमा चेकजाँच गरेर मात्रै सञ्चालन गर्नुपर्नेछ । सवारीको यान्त्रिक अवस्था, सुरक्षा तथा सञ्चालनयोग्यता सुनिश्चित नगरी यात्रु बोकेर सडकमा निस्कन पाइने छैन ।
४. प्रहरीद्वारा अनिवार्य चेकजाँचको व्यवस्था
काठमाडौं जिल्लाभित्र उक्त रुटमा पर्ने प्रहरी युनिटहरूले ट्राफिक प्रहरीसहित कडाइका साथ यात्रुवाहक तथा सार्वजनिक सवारी साधनको अनिवार्य चेकजाँच गर्ने व्यवस्था मिलाइनेछ । सवारी साधनको अवस्था र सुरक्षालाई ध्यानमा राख्दै चेकजाँचलाई प्रभावकारी बनाइने प्रशासनले जनाएको छ ।
प्रशासनले चालकको लापरवाही, तीव्र गति, मादक तथा लागू पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति र जोखिमपूर्ण सडक अवस्थाका कारण दुर्घटनाको जोखिम बढिरहेको भन्दै यात्रुको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ ।
दुर्घटना न्यूनीकरण तथा यात्रुको जीवनरक्षाका लागि जारी गरिएका नियम पालना गर्न सम्बन्धित यातायात व्यवसायी, चालक तथा यात्रु सबैलाई प्रशासनले अनुरोध गरेको छ ।





प्रतिक्रिया