काठमाडौँ । नेकपा (एमाले) ले आगामी मङ्सिर २ र ३ गते काठमाडौँमा आयोजना गर्ने राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र पारेको छ। कार्की ब्याङ्क्वेटमा हुने भेलामा देशभरबाट ३ हजार १६४ जना नेता, जनप्रतिनिधि तथा सङ्गठनका प्रतिनिधि सहभागी हुने भएका छन्।
भेलाको तयारीबारे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित बैठकले व्यवस्थापन, प्रतिनिधिको सहभागिता र कार्यक्रम सञ्चालनबारे समीक्षा गरेको छ।
बैठकमा महासचिव शङ्कर पोखरेलले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्ताबीच साझा धारणा निर्माण गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताए। भेलाले पार्टीको संगठनात्मक एकता सुदृढ गर्दै आगामी स्थानीय निर्वाचनको तयारीलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
भेलालाई अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ।
पार्टीले सहभागीहरूलाई यातायात सहज बनाउन सम्भव भएसम्म निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायात प्रयोग गर्न आग्रह गरेको छ।




प्रतिक्रिया