काठमाडौ ।नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले अलोकतान्त्रिक गतिविधि जारी राखे लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले कांग्रेस तत्काल सडक आन्दोलनको पक्षमा नरहेको तर सरकारले आफ्नो कार्यशैली नसच्याए अन्य दलसँग सहकार्य गरेर संघर्षमा उत्रिने बताए।
उनले आगामी चैतमा हुने भनिएको स्थानीय तहको निर्वाचनबारे अन्योल रहेको भन्दै सरकारले निर्वाचनको तयारी र प्रतिबद्धता स्पष्ट पार्नुपर्नेमा जोड दिए। निर्धारित समयमा निर्वाचन नभए स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था स्वीकार्य नहुने उनको भनाइ छ।
स्थानीय तहको निर्वाचन दलीय प्रतिस्पर्धाबिना स्वतन्त्र उम्मेदवारबीच मात्रै गराउने हो भने संविधान संशोधन आवश्यक पर्ने भन्दै उनले सरकारले यसबारे कुनै तयारी नगरेको टिप्पणी गरे।
पौडेलले लोकतन्त्रको रक्षा र समयमै निर्वाचन सम्पन्न गर्नु अहिले कांग्रेसको प्रमुख प्राथमिकता रहेको बताए।




प्रतिक्रिया