ADVERTISEMENT

नौ दशकको गौरव : नेपाल बैंकले कोर्‍यो आधुनिक बैंकिङको इतिहास

साहु–महाजनको चर्को ब्याजदेखि डिजिटल बैंकिङसम्म, नेपालको पहिलो बैंक ९०औँ वर्षमा प्रवेश

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आज आफ्नो ९०औँ स्थापना दिवस मनाएको छ । वि.सं. १९९४ कात्तिक ३० गते राजा त्रिभुवनबाट उद्घाटन भएको बैंकले नौ दशकको गौरवमय इतिहास, योगदान र रूपान्तरणको स्मरण गर्दै ९०औँ वर्षको यात्रा सुरु गरेको हो ।

नेपाल बैंक स्थापना हुनुअघि नेपाली अर्थतन्त्र साहु–महाजन, सुनार तथा निजी व्यापारिक केन्द्रहरूमा निर्भर थियो । सर्वसाधारण र साना व्यवसायीहरू आर्थिक गर्जो टार्न चर्को ब्याजदरमा ऋण लिन बाध्य थिए । त्यस्तो अवस्थामा संस्थागत बैंकिङको सुरुवात गर्दै नेपाल बैंकले आधुनिक वित्तीय प्रणालीको जग बसाल्यो ।

बचत, निक्षेप, चल्ती तथा मुद्दती खाता, चेकबुक र संस्थागत कर्जाको अभ्यास भित्र्याउँदै बैंकले नेपाली समाजमा बैंकिङ चेतना विस्तार गर्ने ऐतिहासिक काम गर्‍यो । उद्योग, व्यापार, कृषि तथा उद्यम विकासका लागि संस्थागत पुँजी परिचालन गर्दै आधुनिक अर्थतन्त्र निर्माणमा समेत महत्वपूर्ण योगदान पुर्‍यायो ।

नेपाल राष्ट्र बैंक स्थापना हुनुअघि करिब दुई दशक नेपाल बैंकले आंशिक केन्द्रीय बैंकको भूमिकासमेत निर्वाह गरेको थियो । नेपाली मुद्रा जारी गर्ने तथा सरकारी ढुकुटी व्यवस्थापन गर्ने जिम्मेवारीमा समेत बैंकको ऐतिहासिक योगदान रहेको थियो ।

नेपाल बैंकले बसालेको वित्तीय जगबाटै पछि राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक तथा निजी क्षेत्रका बैंकहरूको विकास र विस्तारको बाटो खुलेको हो । यस अर्थमा नेपाल बैंक केवल एउटा वाणिज्य बैंक नभई नेपालको आधुनिक बैंकिङ क्षेत्रको जननी र शिक्षकसमेत रहँदै आएको छ ।

 

प्रतिस्पर्धात्मक बजार, कमजोर व्यवस्थापकीय क्षमता र वित्तीय समस्याका कारण बैंकले विगतमा गम्भीर संकटको सामना गर्नुपरेको थियो । २०५२/५३ देखि २०५८ सालसम्म संकटमा परेको बैंक विदेशी व्यवस्थापन तथा नेपाल राष्ट्र बैंकको विशेष व्यवस्थापनबाट पुनरुत्थानको यात्रामा अघि बढेको थियो ।

पटक–पटकको सुधार, पुँजी पुनर्संरचना र व्यवस्थापकीय परिवर्तनपछि बैंकले आफ्नो वित्तीय अवस्था, संस्थागत सुशासन र कार्यशैलीमा उल्लेख्य सुधार गरेको छ । सरकारी स्वामित्वको बैंक भए पनि प्रतिस्पर्धात्मक बजारअनुसार सेवा र प्रविधिमा आफूलाई रूपान्तरण गर्दै अघि बढिरहेको छ ।

ढड्डा र लेजरमा आधारित परम्परागत बैंकिङबाट सुरु भएको नेपाल बैंकको यात्रा आज डिजिटल बैंकिङ र आधुनिक वित्तीय सेवासम्म आइपुगेको छ । बैंकमा हाल करिब २ हजार ५ सय स्थायी कर्मचारी कार्यरत छन् । औसत उमेर ३५ वर्षभन्दा कम र औसत सेवा अवधि आठ वर्ष रहेको बैंक युवा तथा ऊर्जाशील जनशक्तिको काँधमा अघि बढिरहेको छ ।

प्रारम्भमा सरकारको ४० प्रतिशत र निजी क्षेत्रको ६० प्रतिशत लगानीमा स्थापना भएको नेपाल बैंकमा हाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व कायम छ ।

नौ दशकको गौरवमय इतिहास बोकेको नेपाल बैंकले नेपालको आर्थिक विकास, वित्तीय पहुँच विस्तार र आधुनिक बैंकिङ प्रणालीको निर्माणमा पुर्‍याएको योगदानलाई स्थापना दिवसका अवसरमा स्मरण गरेको छ । नेपालको बैंकिङ इतिहासको पहिलो अध्यायका रूपमा स्थापित नेपाल बैंकको ९० वर्षको यात्रा देशको आर्थिक तथा वित्तीय विकासको महत्वपूर्ण ऐतिहासिक दस्तावेजसमेत बनेको छ ।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार