काठमाडौँ । नेकपा एमालेले मङ्सिर १ देखि ५ गतेसम्म लगातार विभिन्न बैठक तथा भेला आयोजना गर्ने भएको छ। पार्टीले मङ्सिर १ गते स्थायी कमिटी बैठक, २ र ३ गते राष्ट्रिय भेला, ४ गते स्थानीय तहका प्रतिनिधिहरूको भेला र ५ गते चौथो केन्द्रीय कमिटी बैठक बोलाएको छ।
काठमाडौँको कार्की ब्याङ्क्वेटमा हुने राष्ट्रिय भेलामा केन्द्रीय कमिटी सदस्य, पालिका तहका कमिटीका प्रतिनिधि तथा विभिन्न तहका जनप्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने एमालेले जनाएको छ।
भेलाको मुख्य उद्देश्य पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र १५ बुँदे कार्ययोजना एकताबद्ध भएर कार्यान्वयन गर्नु रहेको छ।
भेलामा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा र कार्यभारबारे मार्गदर्शन गर्नेछन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि समसामयिक राजनीति र पार्टीको कार्यभारबारे विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
त्यस्तै, उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारमा रहँदा भएका काम तथा उपलब्धिबारे र महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन्।
एमालेले राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा दिने, पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढ गर्ने र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई व्यवस्थित बनाउने उद्देश्यले राष्ट्रिय भेला आयोजना गर्न लागेको जनाएको छ।





प्रतिक्रिया