काठमाडौं । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा आर्थिक वर्ष २०८१/८२ मा विभिन्न १९ विधामा सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनी, संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् । यस वर्ष सरकारले विगतमा १६ विधामा दिँदै आएको सम्मानलाई बढाएर १९ विधा पुर्याएको हो ।
सम्मानित हुनेमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीतर्फ सूर्य नेपाल प्रालि, एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनल, बैंकिङ क्षेत्रतर्फ नबिल बैंक र वस्तु निर्याततर्फ डाबर नेपाल रहेका छन् ।
त्यस्तै, पर्यटन क्षेत्रमा सोल्टी होटल, ऊर्जा क्षेत्रमा भोटेकोशी पावर कम्पनी, रेमिट्यान्सतर्फ आईएमई लिमिटेड र व्यक्तिगत आयतर्फ राजबहादुर शाह सम्मानित भएका छन् ।
अन्य सम्मानित संस्थामा नोबेल मेडिकल कलेज, सीजी इम्पेक्स, हिमालयन डिस्टिलरी, वरुण बेभरेज नेपाल, छिमेक लघुवित्त तथा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाललगायत रहेका छन् ।
सरकारले करदाताको योगदानको कदर गर्दै कर प्रणालीप्रति जिम्मेवारी बढाउने, नियमित कर दाखिलालाई प्रोत्साहन गर्ने र स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।




प्रतिक्रिया