काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा भएको भनिएको करोडौँ रुपैयाँको आर्थिक अनियमितता प्रकरणमा संस्थानका पूर्वमहाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार तत्कालीन महाप्रबन्धक संजीव झासहित आठ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका झा हाल पनि दुग्ध विकास संस्थानमै प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत रहेको खुलेको छ। संस्थानको उच्च व्यवस्थापन तहदेखि विभिन्न चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीसम्मको मिलेमतोमा आर्थिक अनियमितता भएको आरोपमा उनीहरू अनुसन्धानको दायरामा तानिएका हुन्।
सीआईबीका अनुसार पक्राउ पर्नेमा तत्कालीन सिम्ले चिस्यान केन्द्रका इन्चार्ज तथा हाल बालाजुस्थित दुग्ध वितरण आयोजनामा कार्यरत विजयकुमार यादव, तत्कालीन भक्तपुर चिस्यान केन्द्रका इन्चार्ज तथा हाल संस्थानको केन्द्रीय कार्यालयमा कार्यरत मनहरी शर्मा र तत्कालीन चनौली चिस्यान केन्द्रका इन्चार्ज तथा हाल दुग्ध वितरण आयोजनाको सङ्कलन केन्द्रमा कार्यरत रामकेवल राय छन्।
त्यसैगरी बागमती धुलो दूध कारखाना, हेटौँडामा कार्यरत जितेन्द्रकुमार यादव, नवलपुर–गरुडा चिस्यान केन्द्रका इन्चार्ज नवीन राय यादव, माडी चिस्यान केन्द्रमा कार्यरत शिवनन्दन राय र माडी चिस्यान केन्द्रका इन्चार्ज विखबहादुर भण्डारी पनि पक्राउ परेका छन्।
१२ करोडभन्दा बढीको गैरकानुनी लाभ लिएको प्रारम्भिक निष्कर्ष
सीआईबीमा परेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। संस्थानका तत्कालीन महाप्रबन्धक झासहित उच्च तहका अधिकारी, विभिन्न चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूको आपसी मिलेमतोमा संस्थानलाई आर्थिक क्षति पुर्याउने गरी अनियमितता भएको आरोप छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ हानि पुर्याएर सोही बराबरको रकम गैरकानुनी रूपमा लाभ लिएको देखिएको सीआईबीले जनाएको छ।
यो रकम कसरी, कुन प्रक्रियाबाट र कसको संलग्नतामा दुरुपयोग भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
संगठित मिलेमतोको आशंकामा अनुसन्धान
पक्राउ परेका आठै जनामाथि प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को आपराधिक विश्वासघातसम्बन्धी कसुर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अघि बढाएको छ।
सरकारी स्वामित्वको संस्थानमा उच्च व्यवस्थापनदेखि फिल्ड तहसम्मका कर्मचारी जोडिएको आरोपमा अनुसन्धान अघि बढेपछि डीडीसीको आर्थिक कारोबार, व्यवस्थापकीय निर्णय र चिस्यान केन्द्रहरूको कार्यसम्पादनमाथि समेत प्रश्न उठेको छ।
प्रारम्भिक अनुसन्धानमा देखिएको करोडौँ रुपैयाँको आर्थिक क्षतिको वास्तविक स्वरूप, रकमको प्रवाह र संलग्न व्यक्तिहरूको भूमिकाबारे विस्तृत अनुसन्धानपछि थप तथ्य खुल्ने अपेक्षा गरिएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि लागेको आरोप भने अनुसन्धान र न्यायिक प्रक्रियाबाट पुष्टि हुन बाँकी छ।




प्रतिक्रिया