काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज) मा सञ्चालित उद्योगले सात वर्षमा चार अर्ब ५० करोड ४२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेका छन्। आर्थिक वर्ष २०७६/७७ देखि २०८२/८३ सम्म उक्त मूल्य बराबरको वस्तु निर्यात भएको विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ।
पछिल्लो आव २०८२/८३ मा मात्रै एक अर्ब तीन करोड १८ लाख रुपैयाँको वस्तु निर्यात भएको छ। सेजबाट चुनढुङ्गा, बल्ब, कार्पेट, स्टिलका भाँडा, ट्याङ्की, प्लास्टिकका सामग्री, ग्रेनाइट र फर्नेस आयललगायतका वस्तु मुख्यतः भारत निर्यात हुँदै आएका छन्।
भैरहवा सेजमा २६ उद्योगले सञ्चालनको अनुमति लिएकोमा १३ उद्योग सञ्चालनमा छन्। छ उद्योग निर्माणाधीन र सात उद्योग सम्झौताको प्रक्रियामा छन्। ती उद्योगबाट करिब ७५० जनाले रोजगारी पाएका छन्।
सरकारले सातै प्रदेशमा सेज स्थापना गर्ने घोषणा गरे पनि हालसम्म भैरहवा सेज मात्र पूर्ण रूपमा सञ्चालनमा आएको छ। यसैबीच, तोकिएको निर्यात लक्ष्य पूरा नगरेपछि भैरहवास्थित पञ्चकन्या एसएस एक्सपोर्ट प्रालिसँगको सम्झौता रद्द गरिएको प्राधिकरणले जनाएको छ।



प्रतिक्रिया