बीवाइडीले १ लाख ८३ हजारभन्दा बढी ईभी फिर्ता बोलायो


काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन निर्माता बीवाइडीले ब्रेक पेडलमा देखिएको प्राविधिक समस्याका कारण चीनमा बिक्री भएका १ लाख ८३ हजार २११ वटा विद्युतीय सवारीसाधन फिर्ता बोलाएको छ।

चीनको बजार नियामक निकाय स्टेट एडमिनिस्ट्रेशन फर मार्केट रेगुलेसनका अनुसार सन् २०१४ देखि २०२२ सम्म उत्पादन गरिएका बीवाइडीका ‘चिन’ र ‘ताङ’ सिरिजका गाडीमा ब्रेक पेडलको ‘स्टप बफर’मा उत्पादनसम्बन्धी त्रुटि भेटिएको हो। उक्त पार्ट फुट्ने वा छुट्टिने अवस्थामा चालकले ब्रेक नथिच्दा पनि पछाडिको ब्रेक लाइट बलिरहन सक्ने जोखिम रहेको नियामकले जनाएको छ।

बीवाइडीले प्रभावित गाडीका पार्टपुर्जा आधिकारिक डिलरमार्फत निःशुल्क परिवर्तन गर्ने जनाएको छ। कम्पनीका अनुसार समस्या चीनमा बिक्री भएका निश्चित ब्याचका गाडीमा मात्र सीमित छ र सिंगापुरलगायत अन्य अन्तर्राष्ट्रिय बजारमा बिक्री भएका मोडेल प्रभावित छैनन्।

यसैबीच, चीनकै अर्को ईभी निर्माता नियोले पनि ‘फायरफ्लाई’ ब्रान्डका ६८६ वटा गाडी स्टेयरिङ प्रणालीमा समस्या देखिएपछि फिर्ता बोलाएको छ। उक्त समस्याका कारण पावर स्टेयरिङ असिस्ट अचानक बन्द हुन सक्ने जोखिम रहेको बताइएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार