शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएकाले त्यसको प्रभाव नेपालमा पर्ने महाशाखाले जनाएको छ। विशेषगरी असोज ९, १० र ११ गते बागमती प्रदेशभन्दा पश्चिमका क्षेत्रमा बढी वर्षा हुने सम्भावना छ।

गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको छ। यस्तै, नवलपुरसम्मको पूर्वी लुम्बिनी, कर्णालीको पूर्वी भूभाग तथा सुदूरपश्चिमका दक्षिणी पहाडी र तराई क्षेत्रमा पनि वर्षाको प्रभाव पर्ने जनाइएको छ।

चितवन आसपास तथा बाढीपहिरो प्रभावित रसुवा, नुवाकोट र धादिङमा मध्यम वर्षाले समेत असर पुर्‍याउन सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार