काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको ‘क्यूटीआर ६४५’ कलसाइनको बोइङ ७८७–८ ड्रीमलाइनरमार्फत अमेरिका प्रस्थान गरेका हुन्। उनको यो भ्रमण प्रधानमन्त्रीका रूपमा पहिलो विदेश भ्रमण हो।
प्रधानमन्त्री कार्यालयका अनुसार शाहले कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अमेरिकाको न्यूयोर्क पुग्नेछन्। दोहामा उनलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाह असोज ७ गते (२३ सेप्टेम्बर) दोहाबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नेछन्। न्यूयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत नेपाली अधिकारीहरूले स्वागत गर्नेछन्।
न्यूयोर्क पुगेपछि प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्ने कार्यक्रम छ। त्यहाँ उनलाई भ्रमण तथा महासभामा नेपालको सहभागितासम्बन्धी विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले क्रमशः ब्रिफिङ गर्नेछन्।
त्यसपछि प्रधानमन्त्री शाहको सम्मानमा नेपालको स्थायी नियोगका तर्फबाट आयोजना हुने समारोहमा उनी सहभागी हुनेछन्।
गुटेरेससँग भेटवार्ता, महासभालाई सम्बोधन
प्रधानमन्त्री शाहले असोज ८ गते (२४ सेप्टेम्बर) संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ।
गुटेरेससँगको भेटवार्तापछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन्। सम्बोधनका क्रममा नेपालका प्राथमिकता, अन्तर्राष्ट्रिय चासोका विषय तथा नेपालको दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम छ।
महासभामा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री शाहको सहभागितालाई उनको पहिलो विदेश भ्रमणको प्रमुख कार्यक्रमका रूपमा हेरिएको छ।
असोज १० गते स्वदेश फर्किने
महासभा तथा न्यूयोर्कका कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह असोज ९ गते (२५ सेप्टेम्बर) न्यूयोर्कबाट दोहातर्फ प्रस्थान गर्नेछन्।
दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत तथा बिदाइ गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाह असोज १० गते नेपाल फर्किने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
यस भ्रमणसँगै प्रधानमन्त्री शाहले आफ्नो पहिलो विदेश भ्रमण सुरु गरेका हुन्। उनी काठमाडौँबाट कतारको दोहा हुँदै संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुग्नेछन्।

प्रतिक्रिया