आजदेखि नेप्सेमा नियमित सेयर कारोबार


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ।

नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर रहेको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको प्राविधिक समस्या समाधान भएपछि कारोबार नियमित गर्न लागिएको हो।

डेटा हबमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएपछि नेप्सेले असोज ५ गते सोमबारको नियमित सेयर कारोबार स्थगित गरेको थियो। समस्या कायम रहँदा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत असर पर्न सक्ने भन्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालले कारोबार स्थगित गर्न आग्रह गरेको थियो।

सोही आग्रहका आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) अनुसार एक दिनका लागि कारोबार स्थगित गरेको थियो।

डेटा हबको प्राविधिक समस्या समाधान भइसकेकाले आजदेखि सेयर बजारमा नियमित कारोबार सञ्चालन हुने नेप्सेले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार