काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा १ लाख ३० हजार ४ सय ८३ नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार साउनमा ७० हजार ४ सय ४१ र भदौमा ६० हजार ४२ जनाले श्रम स्वीकृति लिएका हुन्। भदौमा श्रम स्वीकृति लिने ६० हजार ४२ जनामध्ये ३५ हजार ६ सय २७ जना पहिलोपटक वैदेशिक रोजगारीमा जान लागेका नयाँ श्रमिक हुन्। बाँकी २४ हजार ४ सय १५ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
नयाँ श्रमिकमध्ये २९ हजार ९ सय ८४ पुरुष र ५ हजार ६ सय ४३ महिला छन्। भदौमा म्यानपावर कम्पनीमार्फत २५ हजार ४ सय १५, व्यक्तिगत प्रक्रियाबाट ९ हजार २ सय २४ र सरकारी प्रक्रियाबाट ८ सय ६६ जनाले श्रम स्वीकृति लिएका छन्।
गन्तव्यका आधारमा संयुक्त अरब इमिरेट्स (यूएई) सबैभन्दा अगाडि छ। भदौमा यूएईका लागि १८ हजार ४ सय ७७ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि कतारमा १० हजार ४ सय ७१, मलेसियामा ८ हजार ९१, साउदी अरेबियामा ६ हजार ७ सय ८७ र कुवेतमा ३ हजार ८ सय ९८ जनाले श्रम स्वीकृति लिएका छन्।
भदौमा श्रम स्वीकृति लिनेमध्ये ३४ हजार १ सय ६७ जना दक्ष श्रमिक छन्। यस्तै १६ हजार ५८ जना अदक्ष, ९ हजार ४ सय ६६ जना अर्धदक्ष, २ सय ७१ जना व्यावसायिक र ८० जना उच्च दक्ष श्रमिक छन्।
यसैबीच, वैदेशिक रोजगारीसँगै रेमिट्यान्स आप्रवाह पनि उच्च रहेको छ। चालु आर्थिक वर्षको साउनमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको साउनको तुलनामा २१.२ प्रतिशत बढी हो।

प्रतिक्रिया