न्युजिल्यान्ड । न्युजिल्यान्डको उत्तरी टापुको दक्षिणी तटमा सामूहिक रूपमा किनारमा फसेका ४३ वटा पाइलट ह्वेलको मृत्यु भएको छ ।
केप पल्लिसरनजिकैको नगावी समुद्री तटमा बिहीबार बिहान ह्वेलहरू फसेको अवस्थामा भेटिएका थिए । उद्धारकर्मीहरूले जीवित ह्वेललाई समुद्रमा फर्काउने प्रयास गरे पनि शुक्रबार दिउँसोसम्म सबै ४३ वटाको मृत्यु भएको संरक्षण विभागले जनाएको छ ।
दुर्गम क्षेत्र, तीव्र समुद्री छाल, खुकुलो गिट्टी र धारिला चट्टानका कारण उद्धार कार्य कठिन बनेको थियो । मृत ह्वेलहरूको व्यवस्थापन तथा अन्त्येष्टिको काम स्थानीय माओरी समुदायसँगको समन्वयमा भइरहेको छ ।
वैज्ञानिकहरूका अनुसार पाइलट ह्वेल सामाजिक स्वभावका हुने भएकाले एउटा ह्वेल समस्यामा पर्दा समूहका अन्य सदस्यसमेत किनारमा पुग्न सक्छन् । यद्यपि सामूहिक रूपमा किनारमा फस्नुको वास्तविक कारण अझै स्पष्ट हुन सकेको छैन ।




प्रतिक्रिया