काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज लक्ष्मीपूजा गरिँदै छ । तिथि घटबढका कारण यस वर्ष लक्ष्मीपूजा र कुकुर तिहार एकै दिन परेको छ । ऐश्वर्य, धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी आज साँझ घरघरमा दीपावलीसहित लक्ष्मीपूजा मनाइँदै छ ।
लक्ष्मीपूजाका अवसरमा घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली तथा भर्याङलगायतका स्थान सफा गरी दीपावली गर्ने परम्परा छ । घरलाई सफा र आकर्षक बनाउँदै साँझ दीप, बत्ती तथा झिलिमिली प्रकाशले सजाउने गरिन्छ ।
कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रीसमेत भनिन्छ । यस दिन साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गरिने कोठासम्म गाईको गोबर र रातो माटोले लिपपोत गर्ने तथा चामलको पीठो र अबिरले लक्ष्मीका पाइला बनाई घरभित्र प्रवेश गर्ने बाटो देखाउने धार्मिक परम्परा छ । लक्ष्मीको स्वागतका लागि बाटोमा केराको सुत्लो वा माटाका पालामा दीप प्रज्ज्वलन गरी घरलाई झिलिमिली बनाइन्छ ।
दीपावलीपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरी गरगहना, नगद, धान, चामल, फलफूल, सेलरोटी तथा फूलमाला चढाएर विधिपूर्वक पूजा गरिन्छ । लक्ष्मीपूजापछि कन्या तथा छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गर्ने र दक्षिणा दिने चलनसमेत छ ।
लक्ष्मीपूजाका दिन घरमा लक्ष्मीको आगमन हुने धार्मिक विश्वासका कारण धनदौलत तथा अन्य सामान घरबाहिर पठाउन नहुने मान्यता छ । यस दिन घरमा धनसम्पत्ति भित्र्याउने र लक्ष्मीको स्वागत गर्ने परम्परा रहिआएको छ ।
आजै कुकुर तिहार, घरपालुवा जनावरको सम्मान
तिथि घटबढका कारण आजै कुकुर तिहारसमेत मनाइँदै छ । कुकुरलाई यमराजको दूत तथा घरको सुरक्षा गर्ने विश्वासका साथ आज फूलमाला लगाइदिने, टीका लगाउने र मीठामीठा खानेकुरा खुवाएर सम्मान गर्ने परम्परा छ ।
धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खुवाए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक मान्यता छ । कुकुरलाई आज्ञापालक, स्वामीभक्त तथा सुरक्षाका लागि भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।
मानव जीवनमा कुकुरको महत्वपूर्ण भूमिका र योगदानलाई सम्मान गर्दै मनाइने यस पर्वले जनावरप्रतिको प्रेम, सद्भाव र सहअस्तित्वको सन्देशसमेत दिने गर्दछ ।
तिहारको यो विशेष दिनमा घरघरमा लक्ष्मीको स्वागत, दीपावलीको उज्यालो र कुकुरप्रतिको सम्मानसँगै धार्मिक तथा सांस्कृतिक उल्लास छाएको छ ।




प्रतिक्रिया