संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज साँझ न्यूयोर्क उड्दै प्रधानमन्त्री शाह, निजी सचिव परियार सहितको टोली पहिल्यै अमेरिका पुग्यो

भोटेकोशी बाढीपछि जलवायु परिवर्तन र नेपालले भोगिरहेको विपद्को विषय अन्तर्राष्ट्रिय चासोको विषय बनिरहेका बेला प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न लागेका हुन्


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाह साँझ ७ बजे न्यूयोर्कका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शाहसँगै उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन पनि अमेरिका जानेछन् । महासभामा प्रधानमन्त्रीको सहभागिताका लागि आवश्यक तयारी तथा समन्वय गर्न प्रधानमन्त्रीका निजी सचिव सहसचिव प्रदीप परियार, स्वकीय सचिव सुवास शर्मा लगायतका अधिकारी भने यसअघि नै न्यूयोर्क पुगिसकेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा भदौ २३ गतेदेखि न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा सुरु भएको हो । महासभाको उच्चस्तरीय बैठक भने असोज ६ गतेदेखि सुरु हुँदैछ । प्रधानमन्त्री शाहले उच्चस्तरीय बैठकलाई सेप्टेम्बर २४ (असोज ८ गते) सम्बोधन गर्ने कार्यक्रम छ ।

बाढीपछि बदलियो विदेश भ्रमणको योजना

प्रधानमन्त्री शाहले कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणका रूपमा अमेरिका जाने भएका हुन् । यसअघि कार्यभार सम्हालेको एक वर्षसम्म विदेश भ्रमण नगर्ने तयारीमा रहेका शाह भोटेकोशी बाढीपहिरोपछि संयुक्त राष्ट्रसंघको महासभामा नेपालको धारणा राख्न अमेरिका जान लागेका हुन् ।

भदौ १० गते आएको भोटेकोशी बाढी तथा पहिरोले नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन महासभाको मञ्च उपयोग गर्ने सरकारको तयारी छ ।

प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्दा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकट, हिमताल विस्फोटको जोखिम तथा कार्बन उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि जलवायुजन्य विपद्को ठूलो असर नेपालले भोग्नुपरेको विषय उठाउने छन् ।
परराष्ट्रमन्त्री शिशिर खनाल पनि प्रधानमन्त्री शाहको भ्रमण टोलीमा सहभागी हुनेछन् । प्रधानमन्त्रीसहित करिब १० जनासम्मको टोली अमेरिका जाने छन् ।

सम्बोधनपछि प्रधानमन्त्री फर्किने, परराष्ट्रमन्त्रीको ‘साइडलाइन’ भेटवार्ता

प्रधानमन्त्री शाहको भ्रमणका लागि परराष्ट्र मन्त्रालयले सबै तयारी पुरा गरेको छ । अमेरिकास्थित नेपाली दूतावासलाई समेत आवश्यक समन्वय र तयारीका लागि निर्देशन दिइसकिएको बताइएको छ ।

सरकारी तयारीअनुसार महासभाको उच्चस्तरीय बैठकमा सम्बोधन गरेपछि प्रधानमन्त्री शाह नेपाल फर्किनेछन् । प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।
परराष्ट्रमन्त्री खनाल भने न्यूयोर्कमै रहेर विभिन्न मुलुकका प्रतिनिधिसँग साइडलाइन वार्ता तथा अन्य कूटनीतिक गतिविधिमा सहभागी हुने तयारी छ ।

पहिलो विदेश भ्रमणमै जलवायु संकटको मुद्दा

प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण नै विश्वमञ्च अमेरिकाबाट हुँदैछ । पछिल्लो समय नेपालमा जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद् र त्यसबाट भएको क्षतिबारे अन्तर्राष्ट्रिय तहमा समेत चासो बढिरहेका बेला प्रधानमन्त्रीको महासभा सम्बोधनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

भोटेकोशी बाढीपछि जलवायु परिवर्तन र नेपालले भोगिरहेको विपद्को विषय अन्तर्राष्ट्रिय चासोको विषय बनिरहेका बेला प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न लागेका हुन् । यसले नेपालको जलवायु संकट, हिमाली जोखिम र विपद्का असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने सरकारको अपेक्षा छ ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार