काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १५औँ महाधिवेशन विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार सम्पन्न गरिने बताउनुभएको छ।
शुक्रबार काठमाडौंमा लौह पुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शोभा भगवतीस्थित उहाँको शालिकमा माल्यार्पण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले कांग्रेस १४औँ महाधिवेशनबाट १५औँ महाधिवेशनतर्फ अघि बढिसकेको बताउनुभयो।
उहाँले कांग्रेसको विधानअनुसार निर्वाचित कार्यसमितिको कार्यकाल चार वर्ष रहेको र विशेष परिस्थितिमा एक वर्ष थप गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्नुभयो। थपिएको एक वर्षको अवधि यही मंसिरमा पूरा हुने उहाँको भनाइ थियो।
संविधानले पनि एउटा महाधिवेशनबाट अर्को महाधिवेशन साढे पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको भन्दै सिंहले संविधानको भावना र मर्मअनुसार महाधिवेशनको प्रक्रिया अघि बढाइने बताउनुभयो।
राजनीतिक विषयमा राजनीतिक दलले नै निर्णय गर्नुपर्ने र न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्ने उल्लेख गर्दै उहाँले कांग्रेसले आफ्नो परम्परा, विधि र लोकतान्त्रिक मूल्य–मान्यतालाई कायम राख्नुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया