राजस्व बढ्यो, खर्च आम्दानीभन्दा ९ अर्ब ७३ करोड बढी


काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारको राजस्व संकलन १६.३ प्रतिशतले बढे पनि कुल खर्च आम्दानीभन्दा बढी भएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन र भदौमा सरकारको कुल खर्च १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने कुल प्राप्ति १ खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ रहेको छ। यससँगै खर्च आम्दानीभन्दा ९ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ बढी भएको हो।

यस अवधिमा राजस्व संकलन १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा १ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ संकलन भएको थियो।

तर विकास खर्च भने सुस्त छ। दुई महिनामा पुँजीगत बजेटतर्फ ७ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ मात्र खर्च भएको छ, जुन वार्षिक विनियोजनको १.७८ प्रतिशत हो। चालु खर्च १ खर्ब २२ अर्ब ४ करोड र वित्तीय व्यवस्थातर्फ ७० अर्ब १४ करोड रुपैयाँ खर्च भएको छ।

राजस्व संकलनमा सुधार देखिए पनि पुँजीगत खर्चको न्यून प्रगतिका कारण बजेट कार्यान्वयन सरकारका लागि मुख्य चुनौती बनेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार