काठमाडौँ । इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको युद्धमा अमेरिकी रक्षा विभागको खर्च अगस्ट १ सम्म ३८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ। अमेरिकी संसद्को गैरदलीय बजेट कार्यालय (CBO) का अनुसार युद्धको तीव्रता कायम रहेमा आगामी दिनमा सैन्य खर्च प्रतिमहिना ३ अर्ब डलर वा त्यसभन्दा बढी हुन सक्नेछ।
बजेट कार्यालयका अनुसार युद्धका कारण सन् २०२७ को पहिलो त्रैमासिकसम्म अमेरिकाको मुद्रास्फीति अघिल्लो अनुमानभन्दा करिब ०.५ प्रतिशत बिन्दुले बढ्न सक्छ। हर्मुज जलडमरूमध्यबाट हुने तेल तथा ग्यास आपूर्तिमा कमी र लाल सागरको समुद्री ढुवानीमा परेको अवरोधलाई यसको प्रमुख कारण मानिएको छ।
युद्धमा खर्च भएको रकमको ठूलो हिस्सा प्रयोगमा क्षति पुगेका वा नष्ट भएका हतियार तथा सैन्य उपकरण पुनःपूर्तिमा खर्च भइरहेको छ। तर सैनिकको मृत्यु वा घाइतेसँग सम्बन्धित खर्च तथा पूर्वसैनिकका लागि भविष्यमा आवश्यक पर्ने स्वास्थ्य उपचार र क्षतिपूर्तिजस्ता दीर्घकालीन खर्च भने उक्त अनुमानमा समावेश छैनन्।
बजेट कार्यालयको अनुमान अमेरिकी रक्षा सचिव पिट हेगसेथले यसअघि संसद्मा बताएको करिब ३७.५ अर्ब डलर खर्चको अनुमानसँग पनि मिल्दोजुल्दो छ। युद्धको अवधि र सैन्य गतिविधिको तीव्रताअनुसार अमेरिकी खर्च अझ बढ्न सक्ने बजेट कार्यालयले जनाएको छ।

प्रतिक्रिया