काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई पुल निर्माण अलपत्र पारेको भन्दै सरकारले निर्माण कम्पनी पप्पु–महादेव खिम्ती जेभीलाई करिब २ अर्ब रुपैयाँ जरिवाना तिराउने प्रक्रिया अघि बढाएको छ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले सार्वजनिक खरिद ऐनबमोजिम १ अर्ब ९९ करोड १२ लाख ५८ हजार ७ सय ७५ रुपैयाँ सरकारी राजस्व खातामा दाखिला गर्न ३५ दिने सूचना जारी गरेको छ। तोकिएको समयभित्र रकम नतिरे कम्पनीको चल–अचल सम्पत्ति रोक्का गरी सरकारी बाँकीसरह असुल गर्ने चेतावनी दिइएको छ।
२०६८ जेठ ३१ गते ७२३ मिटर लामो पुल निर्माणका लागि ३४ करोड ९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। २०७२ जेठ ३० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि पाँच पटक म्याद थप्दा समेत भौतिक प्रगति ५६ प्रतिशत मात्रै पुगेको थियो। लगातारको ढिलासुस्तीपछि गत वर्ष मंसिरमा ठेक्का सम्झौता रद्द गरिएको थियो।
योजना कार्यालयका अनुसार निर्माण व्यवसायीलाई तीन वर्षका लागि कालोसूचीमा राख्ने निर्णयसमेत कार्यान्वयन भइसकेको छ। पुल निर्माण पूरा नहुँदा झापा र गौरीगञ्जका हजारौं स्थानीय वर्षायाममा काठको डुंगाबाट तथा हिउँदमा अस्थायी बाँसको साँघुबाट जोखिमपूर्ण रूपमा कन्काई नदी वारपार गर्न बाध्य छन्।

प्रतिक्रिया