जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउने प्रधानमन्त्री शाहको प्रतिबद्धता


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम, क्षति र विपद् व्यवस्थापनका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’ का लागि शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर न्यूनीकरण र व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएको बताउनुभएको हो। उहाँले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालले भोगिरहेको जलवायु संकटका विषय उठाउने उल्लेख गर्नुभएको छ।

जलवायु परिवर्तनका कारण हिमाल पग्लिने, हिमनदीको बहाव बढ्ने, पानीका मुहान सुक्ने तथा मौसममा अप्रत्याशित परिवर्तन आउने समस्या बढ्दै गएको उहाँले बताउनुभएको छ। साथै कृषि, जैविक विविधता र स्थानीय जनजीवनमा समेत यसको गम्भीर असर परेको जनाइएको छ।

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको सामना गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य आवश्यक रहेको बताउनुभएको छ। घरपझोङ गाउँपालिकाले आयोजना गरेको दुईदिने सम्मेलनमा देशभरका गाउँपालिका तथा नगरपालिकाका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार