काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले हिमाली क्षेत्रमा बढ्दै गएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्लाई नेपालको आन्तरिक समस्या मात्रका रूपमा हेर्न नहुने बताउनुभएको छ।
शनिबार काठमाडौंमा आयोजित काष्ठमण्डप संवादको तेस्रो श्रृंखलामा बोल्दै खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा जोखिम बढेकाले नेपाल, चीनसहित क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो।
उहाँले नेपाल–चीन सम्बन्धलाई थप व्यावहारिक बनाउन सीमापार पूर्वाधार, कनेक्टिभिटी, प्रविधि र नवप्रवर्तनमा सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो। बीआरआईअन्तर्गत सहमति भएका आयोजना, विशेषगरी ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटीसम्बन्धी परियोजना समयमै अघि बढाउनुपर्ने उहाँको भनाइ छ।
भोटेकोशी बाढीबारे चीनले पूर्वसूचना नदिएको भन्ने टिप्पणी तथ्यमा आधारित नभएको बताउँदै खनालले जल तथा मौसमसम्बन्धी सूचना आदानप्रदान र विपद् पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता कायम राख्दै आफ्नो भूमि चीनविरुद्ध कुनै गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट नीति लिनुपर्ने उहाँले बताउनुभयो। साथै, बदलिँदो विश्व व्यवस्था र ग्लोबल साउथको बढ्दो प्रभावलाई नेपालले रणनीतिक रूपमा मूल्यांकन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

प्रतिक्रिया