विज्ञको सहयोग लिएको भए थप ज्यान बचाउन सकिन्थ्यो : दाहाल


धनुषा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले समयमै स्वदेशी तथा विदेशी विज्ञको सहयोग नलिँदा विपद्मा थप मानिसको ज्यान बचाउन नसकिएको बताएका छन्।

जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विपद् सामान्य बाढी नभई ठूलो हिमाली प्रलयको स्वरूप भएको बताए। प्रारम्भिक चार–पाँच दिनमै विशेषज्ञ परिचालन गरी उद्धार अघि बढाएको भए थप मानिसलाई बचाउन सकिने उनको दाबी छ।

विदेशी विज्ञहरूले सहयोगको इच्छा देखाउँदा पनि सरकारले ‘हामी आफैँ गर्छौँ’ भन्ने अहङ्कार देखाएको आरोप दाहालले लगाए। १०–११ दिनपछि समेत मानिसहरू जीवितै फेला परेको उल्लेख गर्दै उनले समयमै विशेषज्ञको सहयोग लिएको भए अझ धेरैको ज्यान जोगाउन सकिने बताए।

दाहालले सरकारलाई बेपत्ताको खोजी, उद्धार तथा राहतमा गम्भीर र जनउत्तरदायी भएर काम गर्न आग्रह गरे। साथै, पहाडमा परेको विपत्तिमा मधेसका जनतालाई सहयोग गर्न अपिल गर्दै पहाड–मधेसबीचको सहयोगले राष्ट्रिय एकता बलियो बनाउने बताए।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्नेमा जोड दिँदै दाहालले नेपालले ‘क्लाइमेट जस्टिस’ र ‘लस एन्ड ड्यामेज’को मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार