काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले असाधारण प्राकृतिक विपद्लाई आधार बनाएर नेपालमा लगानीको वातावरण जोखिमपूर्ण रहेको धारणा बनाउन नहुने बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले हजारौँ वर्षमा एकपटक आउने असाधारण प्रलयलाई आधार बनाएर जलविद्युत् आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदा आयोजना आर्थिक रूपमा अव्यवहारिक हुन सक्ने बताए।
उनले सामान्य क्लाउडबर्स्ट, ठूला बाढी र फ्ल्यास फ्लडजस्ता सम्भावित जोखिमलाई ध्यानमा राख्दै पर्याप्त सुरक्षा मापदण्ड र ‘सेफ्टी मार्जिन’ राखेर आयोजना निर्माण गर्नुपर्नेमा जोड दिए।
घिसिङले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका लगानीकर्ताको मनोबल बढाउन सरकारले भोटेकोशी–त्रिशूली करिडोरका लागि विशेष राहत तथा सहुलियत प्याकेज घोषणा गर्नुपर्ने माग गरे। साथै, सुरुङ तथा पावर हाउसमा आपत्कालीन निकासको व्यवस्था गर्नुपर्ने र विपद्पछिको उद्धारमा ऊर्जा मन्त्रालयले अझ प्रभावकारी नेतृत्व लिनुपर्ने बताए।

प्रतिक्रिया