काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्का बेला पीडित नागरिकमाथि अमानवीय व्यवहार तथा तुच्छ टिप्पणी नगर्न पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष सम्बोधन गर्दै लामिछानेले पीडितमाथि अमानवीय दुर्व्यवहार गर्ने व्यक्तिमाथि राज्यले कडा कारबाही गर्नुपर्ने बताउनुभयो। सामाजिक सञ्जालमा पीडितलाई लक्षित गरी आपत्तिजनक टिप्पणी गर्ने रास्वपाका समर्थकलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने चेतावनी उहाँले दिनुभयो।
लामिछानेले हालको बाढीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्ति घोषणा गर्न सरकारसँग माग गर्दै बाढीको कारण, क्षति र अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्नुपर्ने प्रस्तावसमेत अघि सार्नुभयो।
यसअघि बाढीपछि रास्वपाको पहलमा बसेको सर्वदलीय बैठकले विपद्को दीर्घकालीन समाधान, पुनर्निर्माण, जलवायु अनुकूलन र सरकारका कामको अनुगमनका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने सहमति गरेको थियो। तर उक्त सहमति हालसम्म कार्यान्वयनमा आउन सकेको छैन।
केन्द्रमा संसदीय समिति वा संसद्बाहिर छुट्टै संयन्त्र गठन गर्ने दुई विकल्पमा छलफल भइरहेको रास्वपाले जनाएको छ।

प्रतिक्रिया