सिटिजन्स बैंकले भोटेकोशी बाढीपीडितलाई २ करोड २२ लाख रुपैयाँ सहयोग


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको जनाएको छ। अर्थ मन्त्रालय, सिंहदरबारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

बैंकका अनुसार बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको हो। बैंकले विपद्बाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

भोटेकोशी बाढीका कारण बैंकको देवीघाट शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको बैंकले जनाएको छ। प्रभावित क्षेत्रमा बैंकले चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलुलगायत खाद्यान्न सामग्रीसमेत वितरण गरेको छ।

सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, स्वास्थ्य शिविर, सामुदायिक विद्यालय, वृद्धाश्रम तथा अनाथालयलगायत क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार