ADVERTISEMENT

राष्ट्र बैंकद्वारा १६ सहकारीको अनुगमन, ६० वटाको लक्ष्य

काठमाडौं । नेपाल राष्ट्र बैंकको टोलीले पहिलो चरणमा १६ सहकारी संस्थाको अनुगमन तथा निरीक्षण गरेको छ। राष्ट्रिय सहकारी प्राधिकरणमा काजमा खटिएको टोलीले ४ सहकारीमा विशेष र १२ वटामा सघन नियमन तथा सुपरिवेक्षण गरेको हो।

राष्ट्र बैंकका उपनिर्देशक गेजा पँगेनीको नेतृत्वमा १० सदस्यीय टोलीले समस्याग्रस्त तथा ठूलो कारोबार गर्ने सहकारीको स्थलगत निरीक्षण गरेको हो। तीन महिनाका लागि खटिएको टोलीको अवधि थप तीन महिना बढाइएको छ। टोलीले कुल ६० सहकारीको नियमन तथा सुपरिवेक्षण गरी प्रतिवेदन तयार गर्ने लक्ष्य राखेको छ।

अनुगमनका क्रममा सहकारीहरूले एउटै व्यक्तिलाई प्राथमिक पुँजीको १५ प्रतिशतभन्दा बढी कर्जा दिने, विनाधितो कर्जा प्रवाह गर्ने, सदस्य बनेलगत्तै ऋण दिने, बचत संकलनमा कमिसन दिने तथा कर्जाको दुरुपयोग गर्ने गरेको पाइएको छ। कतिपय सहकारीमा सञ्चालक आफैंले ठूलो रकम कर्जा लिने र नतिर्ने समस्या समेत देखिएको छ।

टोलीले पाँचतारा साकोस, मिलन बहुउद्देश्यीय सहकारी, भक्तपुर पर्यटन साकोस र स्प्रिचुअल साकोसमा विशेष निरीक्षण गरेको छ। अनुगमनबाट देखिएका समस्या समाधान गर्न सम्बन्धित सहकारीलाई निर्देशन दिनुका साथै सहकारी सुपरिवेक्षण कार्यविधि र नीतिगत सुधारका काम पनि अघि बढाइएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार