ADVERTISEMENT

दशैँ खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकको उजुरी

काठमाडौं । दशैँमा कानुनअनुसार चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिएका छन्।

श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चबापत पाउनुपर्ने व्यवस्था छ। एक वर्ष सेवा अवधि पूरा नगरेका श्रमिकलाई भने काम गरेको अवधिको अनुपातमा खर्च उपलब्ध गराउनुपर्छ।

विभागका महानिर्देशक चक्रपाणि पाण्डेका अनुसार उजुरी परेपछि रोजगारदाता तथा प्रतिष्ठानलाई कानुनअनुसार चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिइएको छ। विभागले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा निजी विद्यालयका सङ्गठनलाई समेत पत्राचार गरेको थियो।

चाडपर्व खर्च नपाएको उजुरीपछि रुपन्देहीस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पताललाई कर्मचारीको रकम भुक्तानी गर्न निर्देशन दिइएको थियो। त्यसपछि अस्पतालले २४० जना कर्मचारीलाई कुल ४२ लाख ५४ हजार रुपैयाँ चाडपर्व खर्चबापत भुक्तानी गरेको विवरण विभागमा पेस गरेको छ।

महानिर्देशक पाण्डेका अनुसार श्रमिकका गुनासा चाडपर्व खर्चमा मात्र सीमित छैनन्। कतिपय श्रमिकले न्यूनतम पारिश्रमिक नपाएको तथा नियमित तलब भुक्तानी नहुने गरेको गुनासोसमेत गरेका छन्। विभागले श्रम ऐनमा भएको व्यवस्था कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार