- केही विषयमा साझा सहमति जुट्न बाँकी
काठमाडौं । नियमित कार्यतालिकाअनुसार बिहानै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्ने प्रधानमन्त्री वालेन्द्र शाह बुधबार एकाएक पार्टी सभापति रवि लामिछानेको निवास पुगेपछि राजनीतिक तथा प्रशासनिक वृत्तमा चासो बढेको छ। प्रधानमन्त्री सिंहदरबार नगई बिहानै बुढानीलकण्ठ पुगेका थिए। त्यहाँ लामिछानेसँग भएको लामो छलफलका कारण बुधबार बस्ने तयारी गरिएको मन्त्रिपरिषद् बैठकसमेत बस्न नसकेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री शाह सामान्यतः विशेष काम नभएको अवस्थामा बिहान १० बजेसम्म सिंहदरबारस्थित कार्यालय पुग्ने गरेका छन्। तर बुधबार उनको नियमित कार्यतालिका बदलियो। प्रधानमन्त्री कार्यालयका कर्मचारीसमेत उनी कार्यालय नआउनुको कारणबारे अन्योलमा रहेको बताइएको छ।
प्रधानमन्त्री शाह बिहान करिब १० बजे लामिछानेको बुढानीलकण्ठस्थित निवास पुगेका थिए। प्रधानमन्त्रीसँगै उनका प्रमुख सल्लाहकार कुमार बेन पनि थिए। दुई नेताबीचको छलफल छोटो समयमै सकिने र त्यसपछि सिंहदरबार फर्किएर मन्त्रिपरिषद् बैठकबाट महत्त्वपूर्ण निर्णय गर्ने तयारी रहेको स्रोतको भनाइ छ।
तर छलफल लम्बिँदै गएपछि प्रधानमन्त्री सिंहदरबार फर्किन सकेनन्। स्रोतका अनुसार दुई नेताबीचको संवाद दिउँसो करिब ३ बजेसम्म चलेको थियो। यससँगै अपराह्न ४ बजेतिर बस्ने तयारी गरिएको मन्त्रिपरिषद् बैठक पनि अघि बढ्न सकेन।
आईजीपी प्रकरणदेखि ३०–५५ सम्मको विषय
प्रधानमन्त्री शाह र सभापति लामिछानेबीचको भेटमा के–के विषयमा छलफल भयो भन्नेबारे औपचारिक विवरण सार्वजनिक भएको छैन। यद्यपि, स्रोतका अनुसार नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग सम्बन्धित प्रकरण र निजामतीको ३०–५५ वर्षे प्रावधान र अध्यादेश सम्बन्धमा छलफलका प्रमुख विषय थिए।
विशेष संवेदनशील विषयमा निर्णय गर्नुअघि दुवै पक्षबीच साझा धारणा बनाउनुपर्ने भएकाले छलफल लम्बिएको स्रोतको दाबी छ।
‘केही अति संवेदनशील प्रकृतिका विषयमा निर्णय गर्नुअघि साझा धारणा बनाउनुपर्ने भएकाले लामो भेट भएको हो,’ स्रोतले प्रशासनपोस्टसँग भन्यो।
स्रोतका अनुसार केही विषयमा सहमति बने पनि केही महत्त्वपूर्ण विषयमा थप छलफल आवश्यक देखिएको थियो। सबै विषयमा साझा धारणा बनिनसकेकाले तत्काल निर्णयमा पुग्न नसकिएको बताइएको छ।
यद्यपि, आईजीपी प्रकरण र ३०–५५ प्रावधानबारे दुई नेताबीच केकस्तो धारणा बन्यो भन्ने विषयमा औपचारिक पुष्टि हुन सकेको छैन।
मन्त्रिपरिषद् बैठकको तयारी, तर बैठक नै बसेन
बुधबार मन्त्रिपरिषद् बैठक बस्ने र केही महत्त्वपूर्ण विषयमा निर्णय गर्ने तयारी रहेको स्रोतले जनाएको छ। त्यसका लागि मुख्य सचिव गोविन्दबहादुर कार्कीलाई आवश्यक तयारी गर्न भनिएको बताइएको छ।
तर प्रधानमन्त्री र पार्टी सभापतिबीचको छलफल निर्धारित समयभन्दा लम्बिएपछि बैठक बस्न नसकेको स्रोतको भनाइ छ।
घरायसी कारण देखाउँदै मंगलबार बिदामा बसेका मुख्य सचिव कार्की पनि बुधबार दिउँसो मात्रै कार्यालय आएका थिए। प्रधानमन्त्रीको अनुपस्थिति, मुख्य सचिवको ढिलो आगमन र मन्त्रिपरिषद् बैठक नबस्नुले बुधबार सिंहदरबारको प्रशासनिक कार्यतालिकामा असामान्य परिस्थिति सिर्जना भएको देखिएको छ।
निजामती अध्यादेशमा पनि साझा धारणा खोजिएको हो?
निजामती सेवासम्बन्धी अध्यादेशको ३०–५५ प्रावधान प्रशासनिक वृत्तमा चासो र बहसको विषय बनिरहेका बेला प्रधानमन्त्री र पार्टी सभापतिबीच यसबारे छलफल भएको भनाइले थप राजनीतिक चासो जन्माएको छ।
यो प्रावधानसम्बन्धी विषयमा सरकारले कस्तो निर्णय लिन्छ भन्ने कुरा निजामती प्रशासनको भावी संरचना, कर्मचारी व्यवस्थापन र सेवा प्रवाहसँग जोडिएको छ। त्यसैले अध्यादेशका विवादित विषयमा राजनीतिक नेतृत्वबीच बन्ने सहमतिले आगामी निर्णय प्रक्रियालाई प्रभावित गर्न सक्नेछ।
तर बुधबारको भेटमा ३०–५५ प्रावधानबारे कुनै ठोस निर्णय भएको वा दुवै नेताबीच निश्चित सहमति कायम भएको पुष्टि भएको छैन।
भारत भ्रमणबारे पनि जानकारी
स्रोतका अनुसार भेटका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री शाहलाई आफ्नो भारत भ्रमणबारे पनि जानकारी गराएका थिए। प्रधानमन्त्री र सत्तारूढ दलका सभापतिबीचको भेट, त्यसको असामान्य लम्बाइ र मन्त्रिपरिषद् बैठक नबस्नुले बुधबारको राजनीतिक घटनाक्रमलाई अर्थपूर्ण बनाएको छ।
अब चासोको विषय प्रधानमन्त्री र सभापतिबीच भएका छलफलका विषयमा सरकारले कस्तो निर्णय लिन्छ र रोकिएको मन्त्रिपरिषद् बैठक कहिले बस्छ भन्ने हो।




प्रतिक्रिया