काठमाडौं । कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हुरीबतास तथा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमानपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।
स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गर्दै सम्भावित विपद्को पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन आग्रह गरेको हो।
एकाइले आकस्मिक चिकित्सकीय टोलीसहित आवश्यक स्वास्थ्य जनशक्ति, औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। साथै, चौबीसै घण्टा सम्पर्कमा रहने आपत्कालीन सम्पर्क व्यक्ति तोक्न र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटनाको विवरण दैनिक रूपमा अनिवार्य पठाउन पनि भनिएको छ।
सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै प्रभावित नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन र एम्बुलेन्स सेवाको प्रभावकारी परिचालन सुनिश्चित गर्न एकाइले आग्रह गरेको छ।




प्रतिक्रिया