काठमाडौँ । भारतको आन्ध्र प्रदेश र यानम तटीय क्षेत्रमा चक्रवात ‘अर्नब’को प्रभाव तीव्र बनेको छ। मङ्गलबार रातिदेखि सुरु भएको ल्यान्डफलका कारण सो क्षेत्रमा भीषण वर्षा र तीव्र हावाहुरी चलिरहेको छ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार चक्रवातको केन्द्रमा हावाको गति १२५ देखि १३५ किलोमिटर प्रतिघण्टा रहेको छ भने यो १५० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने जनाएको छ।
चक्रवातका कारण आन्ध्र प्रदेशका तटीय क्षेत्रमा समुद्री लहर १.५ देखि २.५ मिटरसम्म अग्लो उठ्न सक्ने चेतावनी दिइएको छ। यसले तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढाएको छ। विशेषगरी काकिनाडा र यानम आसपासका क्षेत्रमा उच्च समुद्री लहरको सम्भावना रहेको छ।
भीषण वर्षा र हावाहुरीका कारण काकिनाडामा रुख ढलेका छन् भने बिजुलीका पोलमा क्षति पुगेको छ। विशाखापटनमको बिच रोड र सीताम्माधारामा रुख ढलेपछि सडकसमेत अवरुद्ध भएका छन्।
यसैबीच, चक्रवातको प्रभावका कारण पश्चिम बङ्गालका विभिन्न क्षेत्रमा पनि भारी वर्षा र तीव्र हावाहुरीले जनजीवन प्रभावित बनाएको छ।




प्रतिक्रिया