ADVERTISEMENT

चक्रवात ‘अर्णव’को प्रभावः नेपालमा तीन दिन वर्षा र हिमपातको जोखिम

काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा आगामी तीन दिन वर्षा र हिमपातको जोखिम बढ्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले कात्तिक १२ देखि १४ गतेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा तथा हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसम प्रतिकूल हुँदा हिमआँधी, हिमपहिरो र पहिरोको जोखिम बढ्नुका साथै सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले किसानलाई धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न तथा उच्च पहाडी र हिमाली क्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ। साथै, चिसो बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार