काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को कार्यकारी निर्देशकमा सरकारका पूर्वसचिव डा. रामप्रसाद घिमिरे नियुक्त भएका छन्।
हालै बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। लामो समयदेखि रिक्त रहेको उक्त पदमा सरकारले खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत नियुक्ति गरेको हो।
कार्यकारी निर्देशक छनोटका लागि भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक २०८३ असार ९ गते आवेदन आह्वान गरेको थियो। त्यसपछि असार २४ र भदौ २ गते पुनः सूचना प्रकाशित गरिएको थियो। मन्त्रालयले ‘नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक सिफारिससम्बन्धी मापदण्ड, २०८३’ का आधारमा छनोट प्रक्रिया अघि बढाएको थियो।आवेदन दिएका उम्मेदवारमध्ये पूर्वसचिवहरू डा. रामप्रसाद घिमिरे, गोकर्णमणि दुवाडी, डिल्लीराम शर्मा र बाबुराम अधिकारी तथा अञ्जु मिश्र संक्षिप्त सूचीमा परेका थिए।
संक्षिप्त सूचीमा परेकामध्ये अन्तर्वार्तापछि डा. घिमिरे, डिल्लीराम शर्मा र बाबुराम अधिकारी गरी तीन जनाको नाम नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिएको थियो। सरकारले सिफारिसमा परेका तीन जनामध्ये घिमिरेलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो।
प्रशासनिक जनशक्तिको क्षमता विकास, तालिम तथा व्यावसायिक दक्षता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने स्टाफ कलेजको नेतृत्वमा घिमिरेको नियुक्तिलाई प्रशासनिक वृत्तमा चासोका साथ हेरिएको छ।




प्रतिक्रिया