काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे सुरु हुने खेलमा जनकपुर पहिलो जित निकाल्ने लक्ष्यमा रहँदा काठमाडौं विजयी सुरुवात गर्न चाहन्छ।
पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित जनकपुर ब्याटिङ सुधार गर्दै मैदान उत्रिनेछ। कप्तान हर्मीत सिंहसहित मोइन अली, जिमी नीशम र कुसल परेराबाट टोलीले उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ।
यता, काठमाडौं गोर्खाज डेभिड वार्नरको अनुपस्थितिमा उपलब्ध खेलाडीको प्रदर्शनमा निर्भर रहनेछ। स्मित पटेल, केएस भरत र करण केसी टोलीका मुख्य खेलाडीका रूपमा रहनेछन्।
अघिल्ला दुई संस्करणमा दुवै टोलीले एक–एक खेल जितेका छन्। आजको खेलमा जित निकाल्दै अग्रता लिन दुवै टोली प्रतिस्पर्धामा उत्रिनेछन्। मौसममा बदली र वर्षाको सम्भावना रहेकाले खेल प्रभावित हुन सक्नेछ।




प्रतिक्रिया