काठमाडौं । भारतको धितोपत्र तथा विनिमय बोर्ड (सेबी) ले सार्वजनिक निष्कासन (आईपीओ) बाट उठाइएको रकमको उपयोगसम्बन्धी अनुगमन प्रणाली पुनरावलोकन गर्ने भएको छ।
सेबी अध्यक्ष तुहिन कान्ता पाण्डेका अनुसार समयमै सूचना प्रवाह र अनुपालन प्रक्रियालाई प्रभावकारी बनाउन विद्यमान व्यवस्था संशोधनको तयारी भइरहेको छ। उनले पारदर्शिता सूचना धेरै सार्वजनिक गर्नुमा नभई त्यसको गुणस्तर, समयमै उपलब्धता र उपयोगितामा निर्भर हुने बताए।
सेबीले सम्बन्धित पक्षबीच हुने कारोबारसम्बन्धी नियमलाई पनि थप स्पष्ट र व्यावहारिक बनाउने तयारी गरेको छ। साथै, कम्पनीहरूमा पर्ने अनावश्यक प्रशासनिक भार घटाउने र एउटै विषयमा विभिन्न स्टक एक्सचेन्जबाट दोहोरो जरिवाना लाग्ने अवस्था अन्त्य गर्ने गरी नयाँ व्यवस्था ल्याइने पाण्डेले बताए।
उनका अनुसार प्रस्तावित संशोधनले कम्पनीहरूलाई नियम बुझ्न र कार्यान्वयन गर्न सहज बनाउनेछ भने लगानीकर्ताको हित संरक्षणका आवश्यक व्यवस्था भने कायम रहनेछन्।


