काठमाडौं । विद्युत् उत्पादन सुरु भएको चार वर्षसम्म लगातार घाटामा रहेको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र चालु आर्थिक वर्षमा नाफामा जाने अवस्थामा पुगेको छ।
विद्युत्गृह सञ्चालनमा सुधार, हाइड्रोलोजी पेनाल्टीमा कमी तथा दीर्घकालीन ऋणको ब्याजदर घटेसँगै कम्पनीको वित्तीय अवस्थामा सुधार आएको माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत पूर्णगोपाल रञ्जितले जानकारी दिनुभयो।
उहाँका अनुसार कम्पनीले चालु आर्थिक वर्षमा करिब एक अर्ब रुपियाँ नाफा कमाउने अवस्थामा पुगेको छ। विद्युत् बिक्रीबाट आम्दानी बढ्नुका साथै हाइड्रोलोजी पेनाल्टी घटेको र ऋणको ब्याजदर कम भएकाले कम्पनीलाई वित्तीय राहत मिलेको हो।
कम्पनीले विगत चार वर्षमा हाइड्रोलोजी पेनाल्टीबापत करिब एक अर्ब रुपियाँ तिरेको थियो। आव २०७८/७९ मा ३३ लाख रुपियाँ रहेको पेनाल्टी आव २०८१/८२ मा २२ करोड रुपियाँ पुगेको थियो। पछिल्लो आवमा भने कम्पनीले यस्तो पेनाल्टी तिर्नुपरेको छैन।
यस्तै, दीर्घकालीन ऋणको ब्याजदर ८.२५ प्रतिशतबाट घटाएर ६.७५ प्रतिशतमा कायम गरिएको छ। उक्त दर कम्तीमा तीन वर्ष स्थिर रहने भएकाले कम्पनीले वार्षिक करिब ७५ करोड र तीन वर्षमा करिब दुई अर्ब २५ करोड रुपियाँ वित्तीय खर्च बचत गर्ने रञ्जितले बताउनुभयो।
बाढीबाट क्षतिग्रस्त आयोजनाका संरचना पुनर्निर्माणमा २५ करोड रुपियाँ खर्च भए पनि सम्पूर्ण खर्च कटाएर कम्पनी नाफामा जाने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो।


