काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ दोस्रो सातासम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेका छन्। बैठकअघि भदौ पहिलो साता सचिवालय बैठक बोलाएर मिति तय गर्नेबारे आन्तरिक छलफल भइरहेको ओली निकट स्रोतले जनाएको छ।
पार्टी पुनर्गठनसम्बन्धी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन मस्यौदा भने अध्यक्ष ओलीले लामो समयदेखि ‘होल्ड’ गरेका छन्। ओलीले मस्यौदाका केही विषयमा असहमति जनाएपछि कार्यदलले त्यसलाई अन्तिम रूप दिन नसकेको स्रोतको दाबी छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्नेछ। तर, सचिवालय बैठकको मिति भने अहिलेसम्म तय भइसकेको छैन।
कार्यदलको प्रतिवेदनमा ‘समग्र पार्टी पुनर्गठन’ भन्ने शब्दप्रति ओली असन्तुष्ट रहेको बताइएको छ। पार्टी पुनर्गठनका क्रममा शीर्ष नेताहरूले जिम्मेवारीबाट बिदा लिनुपर्ने आवाज उठे पनि ओलीले हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित नेतृत्व समयअगावै छाड्न नहुने धारणा राख्दै आएका छन्।

