काठमाडौँ । सरकारले सार्वजनिक बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ। मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले सातामा दुई दिन बिदा लागू भएपछि सार्वजनिक बिदा पुनरावलोकन आवश्यक ठहर गर्दै १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको हो।
बैठकले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने, सार्वजनिक सेवा प्रवाहलाई सहज र बिचौलियामुक्त बनाउने, एकद्वार सेवा प्रणाली लागू गर्ने, नागरिक गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्ने तथा मालपोत र नापी सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने लगायत २२ वटा निर्णयसमेत गरेको छ। साथै वित्तीय अनुशासन, सदाचार नीति कार्यान्वयन, सम्पत्ति शुद्धीकरणसम्बन्धी सुधार र मनसुनजन्य विपद् व्यवस्थापनलाई पनि उच्च प्राथमिकता दिने निर्णय गरिएको छ।