एमाले सांसदलाई संसदीय भूमिकाबारे प्रशिक्षण दिँदै ओली
काठमाडौँ । नेकपा (एमाले) ले सङ्घीय संसद्मा आफ्ना सांसदहरूको भूमिका प्रभावकारी बनाउन आज विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ।
पार्टीको संसदीय विभागको आयोजनामा च्यासलस्थित केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूले संसद्मा निर्वाह गर्नुपर्ने भूमिका र जिम्मेवारीबारे प्रशिक्षण दिनेछन्।
कार्यक्रममा संसद् सचिवालयका पूर्व सचिव हर्कराज राईले संसद् सचिवालयको काम, कर्तव्य, अधिकार तथा संसदीय समितिहरूको अधिकार क्षेत्रबारे जानकारी गराउनेछन्।
एमाले महासचिव शंकर पोखरेलले पार्टी नीति र सांसदहरूको कर्तव्यबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ। सांसदहरूले पार्टी नीति अनुरूप भूमिका निर्वाह गर्ने तथा विभागहरूसँग समन्वय गर्ने विषयमा पनि छलफल हुने बताइएको छ।
कार्यक्रममा दुवै सदनका सांसद, पार्टीका विभाग प्रमुख तथा पूर्व सदस्यहरू सहभागी हुनेछन्। साथै सांसदहरूलाई आवश्यक विशेषज्ञ परामर्श उपलब्ध गराउन विषय विज्ञहरूको ‘रोस्टर’ समेत तयार गरिने एमालेले जनाएको छ।